एचआइडीसीएलको संस्थापक सेयर फेरि लिलामी हुने
काठमाडौं, ११ साउन
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले १५ साउनबाट कुल दुई करोड ७८ लाख नौ हजार ४८० कित्ता संस्थापक सेयर पुनः लिलामी गर्ने भएको छ ।
यसअघि ५ देखि १९ असारसम्म तीन करोड ३० लाख संस्थापक सेयर लिलामी गर्दा ५१ लाख ९० हजार ५२० कित्ता मात्र बिकेको थियो । त्यसबेला बिक्री नभएको सेयर अहिले पुनः लिलामी गर्न लागेको हो ।
लिलामीमा जोकोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने एचआइडीसीएलले जनाएको छ । बोलपत्र पेस गर्ने म्याद २९ साउनसम्म तोकिएको छ । न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्नुपर्नेछ । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिनेछ ।
यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ । यसमा न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : Share Market






















प्रतिक्रिया दिनुहोस