विश्वव्यापी रूपमा देखिएको खाद्य तथा इन्धन संकटको प्रभाव नेपालसम्म
विश्वमा कोरोना महामारी फैलिएसँगै उत्पादन न्यून हुँदै गयो । रोजगारी र आय घट्दै गयो । अर्थतन्त्र निरन्तर ओरालो लाग्न थाल्यो । आजभोलि त विश्वव्यापी रूपमा देखिएको खाद्य तथा इन्धन संकटको प्रभाव नेपालसम्म आइपुगेको छ । कोभिडपछि मागको तुलनामा आपूर्ति बढ्न नसक्दा विश्वभर मूल्यवृद्धिको दबाब पर्न थालेको हो ।
पछिल्लो समय रूस–युक्रेन युद्ध विश्वभरि नै बजारभाउ बढाउने कारण बन्यो । विशेषतः इन्धनको मूल्यमा भएको बढोत्तरीले हरेक वस्तुको मूल्यमा वृद्धि भयो । नेपाल पनि विश्वव्यापी खाद्य र इन्धन संकटको प्रभावबाट अछुतो रहन सकेन । संकटको सामना गरिरहेको अवस्थामा ‘विश्वव्यापी संकट र समाधानका उपाय’ विषयक अन्तक्र्रियात्मक कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीले कोभिड र रूस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएको बताउनुभयो ।
आज विश्वमा बजारमूल्य तीव्रतर हुँदै गइरहेको छ । मुद्रस्फीतिले हरेक देशलाई आक्रान्त बनाइरहको छ । अहिले अमेरिकामा मूल्यवृद्धि ४० वर्षपछिकै सबैभन्दा उच्च ८.३ प्रतिशत पुगेको पाइएको छ । भारतमा झन्डै ८ प्रतिशत, टर्कीमा ७० प्रतिशत, युरोपमा ५ प्रतिशत र नेपालमा पनि चैतसम्म आइपुग्दा मूल्यवृद्धि दर ७.२ प्रतिशत पुगेको छ ।
रूस–युक्रेन युद्ध सुरु नहुँदै मूल्यवृद्धिको चाप पर्न गएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभएको छ । “हाल खाद्य तथा इन्धन संकटको प्रभाव विश्वकै अर्थतन्त्रमा परेको छ,” उहाँले भन्नुभयो, “हामीले पनि साढे ७ प्रतिशतको मूल्यवृद्धि बेहोर्नुपरेको छ ।” तर, नेपालमा जतिसुकै मूल्य बढ्दासमेत उपभोग घट्न नसकेको उहाँ बताउनुहुन्छ । कोरोनापछि बजारमा माग बढेको अनुपातमा आपूर्ति बढ्न नसक्दा विश्वकै अर्थतन्त्रमा असन्तुलन देखिन पुगेको हो ।
विश्वव्यापी खाद्य संकट चुलिने आकलन गरेर भारतले गहुँ निर्यातमा रोक लगाएको थियो । यस्तो समस्याबाट जोगिने उपाय स्वदेशमै उत्पादन नबढाउनुको विकल्प देखिँदैन । देशभित्र रहेको कृषियोग्य भूमि पूरै उपयोग गर्न सकेमा कृषि उत्पादनमा आत्मनिर्भर बन्न सकिने अवस्था सिर्जना हुन्छ । पछिल्लो समय कृषि उत्पादनमा बढेको उत्साहलाई थप प्रोत्साहन गरी खाद्यान्नजन्य उत्पादनलाई बिस्तारै आत्मनिर्भर बनाउन सकिने अवस्था छ । यसका लागि सरकारको कृषि नीति प्रभावकारी बनाइनुपर्छ ।
कोभिडको प्रभाव कम हुँदै गएर एक्कासि बजारमा माग बढ्दा मूल्यवृद्धिमा चाप परेको साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोमेन्ट (सावती) ले बताएको छ । विश्वमै ऊर्जा, मल र खाद्यान्नको मूल्य समानान्तर रूपमा बढ्दै गइरहेको बताइएको छ । उत्पादनमा कमी र उपभोगको लागि उच्चतम मागका कारण पूर्तिमा न्यूनता देखियो । पूर्ति न्यून भएकाले बजार मूल्य अकासिन पुग्यो ।
यदि खाद्य संकट हुने अवस्था आएमा त्यसलाई अवसरका रूपमा लिँदै देशभित्रै उत्पादन बढाउनेतर्फ लाग्नुपर्ने हुन्छ । पछिल्लो समय इन्धनको मूल्य बढ्दा ढुवानी र उत्पादनमा लागत बढ्न गई बजारभाउ उच्च भएको हो । कोभिडपछि विश्व नै तङ्ग्रिन खोज्दा बजारमा चाप पर्दै गइरहेको अवस्थामा रूस–युक्रेन युद्धले मूल्यवृद्धिमा थप सहयोग पुु¥याइदियो ।
कोभिडको प्रभाव, रूस र युक्रेन युद्ध, अमेरिकी डलरसँगको विनिमय दरका कारण नेपालमा पनि मुद्रास्फीति, खाद्यान्न, ऊर्जा, वैदेशिक व्यापार र विदेशी मुद्रा सञ्चितिमा चाप पर्ने देखिएको छ । यस संकटलाई पार लगाउन हामीले पूर्वतयारी गर्नु आवश्यक छ । नेपालमा कुल आयातको करिब १५ प्रतिशत हिस्सा इन्धनको छ । नेपालमा विद्युत् आयोजना निर्माणलाई तीव्रता दिनुका साथै विद्युतीय उपकरणको उपयोग बढाउँदा इन्धन आयात घटाउन सकिनेछ ।
क्याटेगोरी : Market, News
प्रतिक्रिया दिनुहोस