• Punjibad
  • खेती गाउँमा, बढी कर्जा सहरमा


    सरकारले हरेक वर्षका नीति तथा कार्यक्रममा कृषि उत्पादन बढाउने गरी गाउँ केन्द्रित कार्यक्रमहरू घोषणा गरे पनि लगानी भने सहरमा बढी हुने गरेको एक प्रतिवेदनले देखाएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन/अर्धवार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/७९) ले कृषि क्षेत्रमा छुट्याइएको बजेटमध्ये ठूलो हिस्सा सहरमा खर्च भइरहेको जनाएको हो ।

    प्रतिवेदनअनुसार वाग्मती प्रदेशमा सबैभन्दा बढी कृषि कर्जा प्रवाह काठमाडौं जिल्लामा भएको छ । प्रदेशभर चालु आवको पुससम्म कुल १ खर्ब ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको कृषि कर्जा प्रवाह भएकोमा सबैभन्दा धेरै काठमाडौंमा मात्रै ४१ अर्ब ७३ करोड रुपैयाँ प्रवाह भएको हो । यो कुल रकमको ४०.४ प्रतिशत हो । काठमाडौंमा प्रवाह भएको कृषि कर्जा सुदूरपश्चिम र गण्डकी प्रदेशको कुल कृषि कर्जाभन्दा बढी छ । सुदूरपश्चिममा जम्मा १४ अर्ब ९० करोड र गण्डकीमा २९ अर्ब ५५ करोड रुपैयाँ बराबरको मात्रै कृषि कर्जा दिइएको छ । यसले कृषिमा सरकारी लगानी सहरमा केन्द्रित भएको पुष्टि हुने जानकारहरू बताउँछन् ।

    ‘सामान्यतया खेतीपाती ग्रामीण क्षेत्रमा हुन्छ तर त्यस क्षेत्रमा लगानी कम छ । तथ्यांकले कृषि लगानी सहरमुखी देखियो,’ पूर्वकृषि सचिव योगेन्द्र कार्कीले भने, ‘जबसम्म कृषिको लगानी गाउँमा हुँदैन, तबसम्म कृषि क्षेत्रको आर्थिक क्रान्ति हुन सक्दैन । लगानी काठमाडौंमा मात्रै केन्द्रित छ, अनि कृषि क्षेत्रले फड्को कसरी मार्न सक्छ ?’ काठमाडौंका निकै कम क्षेत्रमा मात्र खेतीपाती हुन्छ । उत्पादन पनि अन्य जिल्लाको तुलनामा निकै कम मात्रै हुन्छ । पछिल्लो समय कौशी खेतीको प्रचलन भए पनि उत्पादन पर्याप्त छैन । तर कृषि लगानी भने काठमाडौं केन्द्रित छ । अर्बौंको कृषि कर्जा प्रवाह काठमाडौंमै भएको छ । कृषि क्षेत्रमा प्रवाह भएको यस्तो रकम दुरुपयोग समेत हुँदै आएको छ । ‘कृषिको नाममा कर्जा लिएर अन्यत्र लगानी भएको सुनिन्छ । काठमाडौंको हकमा अर्बौंको कृषि कर्जा प्रवाह हुन नपर्ने हो,’ राष्ट्रिय योजना आयोगका प्रवक्ता दिलबहादुर गुरुङले भने, ‘कृषिको नाममा घरजग्गामा लगानी भएको हुनसक्छ । लगानी अन्यत्र गएको हुन सक्छ । राम्रोसँग अनुसन्धान हुन जरुरी छ ।’

    प्रतिवेदनअनुसार चालु आवको पहिलो ६ महिनामा वाग्मती प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल ०.६ प्रतिशतले घटेको छ । गत वर्षको यसै अवधिमा यस्तो क्षेत्रफल १.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा धान बालीले ढाकेको क्षेत्रफल १.५ प्रतिशत र फापर बालीले ढाकेको क्षेत्रफल ८.५ प्रतिशतले बढेको छ । कोदो बालीले ढाकेको क्षेत्रफल १.१ प्रतिशत, आलु बालीको ७.३ प्रतिशत, दलहन बालीको ७.२ प्रतिशत र तेलहन बालीको १.९ प्रतिशतले घटेको देखिन्छ । उक्त अवधिमा प्रदेशभर समग्र कृषि बालीको उत्पादन ०.६ प्रतिशतले घट्दा खाद्य तथा अन्य बालीको उत्पादन १.१ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

    सरकारले कृषिमै अर्बौंको लगानी भएको तथ्यांक अघि सारे पनि त्यसअनुसारको प्रतिफल भने देखिँदैन । तरकारी, फलफूल, दाल, चामलदेखि अचारसम्म आयात भइरहेको छ । आयातको अवस्था हेर्दा कृषि कर्जाको रकम अन्यत्र लगानी भएको हुन सक्ने गुरुङको आकलन छ । काठमाडौंमा मुख्यतः कुखुरापालन, बाख्रापालन, टनेल खेती, कोल्ड स्टोर, मासु पसल, कोल्ड स्टोरको नाममा कृषि कर्जा लिने गरेको पाइन्छ । कान्तिपुर दैनिकमा छ ।


    क्याटेगोरी : Banking/finance

    प्रतिक्रिया दिनुहोस


    थप समाचार