सिटिजन्स बैंकको च्याटबट सेवा सुरु
डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा आफ्ना ग्राहकका लागि वेबसाइटमार्फत च्याटबट सेवा ‘सिटिजन्स साथी’को सुरुवात गरेको छ ।
यो नवीनतम सेवामार्फत अब ग्राहकले कुनै पनि बैंकिङ सेवाहरुको अनुरोध सीधै च्याटबट सेवा ‘सिटिजन्स साथी’द्वारा गर्न सक्नेछन् । यसका साथै ग्राहकले बैंकिङ सेवासम्बन्धी जिज्ञासाहरुका लागि यस प्लेटफर्ममार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्नेछन् । यो सेवा ग्राहकमैत्री हुनुका साथै ग्राहकका लागि अझ सहज, सुरक्षित, सर्वसुलभ र विश्वासयोग्य हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १४ लाख ९० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ईकेवाईसी तथा नागरिक एपमार्फत् अनलाइन खाता खोल्न सक्नेजस्ता सुविधाको सुरुवात गरिसकेको छ ।
यसका साथसाथै बैंकका ग्राहकको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक सहायता केन्द्रको समेत स्थापना गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन ०१–५९७००६८ नम्बरमा फोन गरी तथा support@ctznbank.com मा ई–मेल गरी प्राप्त गर्न सक्नेछन् ।
यस प्रकारका सेवाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ ।
क्याटेगोरी : News, Banking/finance
प्रतिक्रिया दिनुहोस