• Punjibad
  • विग मर्जरः ग्लोबल आइएई र बैंक अफ काठमाण्डाैँ बीच भयाे सम्झौता


     ग्लोबल आइएई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरको सम्झौता भएको छ । बिहीबार बिहान होटल याक एण्ड यतीमा दुबै बैंकले एक वित्तीय संस्था बनाएर कारोबार गर्ने गरी मर्जरको सम्झौता गरेका हुन् ।    

    समझदारीपत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका हुन् । बैंकको १ः१ को स्वाप रेसियो कायम गर्ने गरि सम्झौता भएको छ ।   

    आज भएको सम्झौता अनुसार एकिकृत बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत ग्लोबल आइएमई बैंकको भागमा परेको छ भने डिपुटी सिईओ बैंक अफ काठमाण्डूले पाउने भएको छ । मर्जर पश्चात बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने भएको छ । 

    मुलुककै सबैभन्दा ठूलो बैंक बन्दै       

    ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच एक आपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । यससंगै यो बैंक ५२ अर्ब कूल पुँजीसहित मुलुककै सबैभन्दा ठूलो बैंक बन्ने भएको हो । 

    मर्जर पश्चात् यस बैंकको कूल पुँजी ५२ अर्ब २९ करोड हुनेछ । त्यस्तै, चुक्ता पूँजी ३४ अर्ब ४१ करोड हुनेछ भने कूल निक्षेप ३८४ अर्ब, कूल कर्जा ३८० अर्ब हुनेछ ।  

    त्यस्तै, दुई बैंकहरुको ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु रहेका छन् । यस्तै, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ३७ लाख भन्दा बढि ग्राहकहरु रहेका छन् । 

    दुवै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरुलाई थप उत्कृष्ट सेवा तथा सुबिधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई उच्चतम् प्रतिफल दिने विश्वास बैंकले लिएको छ ।  

    साथै, बैंकले वित्तीय क्षेत्रमा नयाँ अवसरहरु ल्याई ग्राहक, शेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरोकार राख्नुहुने सबैको हितलाई ध्यानमा राखी बैंकले कार्य सम्पादन गर्ने दुवै बैंकका सञ्चालक समिति अध्यक्षहरुले सयुंक्त रुपमा प्रतिवद्धता ब्यक्त गरेका छन् ।  

    सबै हिसावले सर्वोकृष्ट बैंक बनाउने प्रतिवद्धता
    बिहिबार भएको सम्झौता कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले नेपालको बैंकिङ्ग इतिहासमा एउटा ऐतिहासिक कार्य भएको बताए । उनले ग्लोबल आइएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरु परिपालनामा सधै पहिलो हुने गरेको बताउँदै तदअनुरुप यो मर्जरको समझदारीपत्रमा हस्ताक्षर गरिएको बताए ।  

    उनले मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सबै हिसावले सर्वोकृष्ट बैंक बनाउने प्रतिवद्धता समेत व्यक्त गरे । बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले बैंकिङ्ग क्षेत्रमा आजको दिन सधै संस्मरणमा रहने बताए ।    

    उनले मर्ज हुनु प्राकृतिक प्रकृया हो तर मर्जरपछि बन्ने बैंक कस्तो बन्छ भन्ने मूल विषय रहेको बताए । उनले नयाँ बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमा ठूलो सफलता हासिल गर्नेमा विस्वास प्रकट गरे ।     


    क्याटेगोरी : News, Banking/finance

    प्रतिक्रिया दिनुहोस